एक करोडको स्मृति कोष स्थापना, एम्बुलेन्स सञ्चालन गर्न १० लाख प्रदान

January 30, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


गत वर्ष दिवङ्गत हुनु भएका संविधानसभाका पूर्व सदस्य शिक्षा सेवी डा बाबुराम पोखरेलको स्मृतिमा उहाँको परिवारले १ एक करोडको अक्षयकोष स्थापना गरेको छ ।

डा बाबुराम पोखरेल स्मृति समाजद्धारा आज राजधानीमा आयोजित कार्यक्रममा छोरा डा वविन पोखरेलले कोष स्थापनाको घोषणा गर्नु भएको हो । डा पोखरेलले संविधानसभाबाट प्राप्त गरेको रकममा धर्मपत्नी उर्मिलाले रु ३० लाख र छोराहरु डा वविन र डा युविनबाट रु १०-१० लाख थपेर एक करोडको कोष स्थापना गरिएको हो ।

कोष मार्फत हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति सम्मानसँगै कर्णाली क्षेत्र र गोरखाका असहाय र गरीब परिवारमा शैक्षिक सामाग्री तथा लत्ता कपडा वितरण गरिने तथा काठमाडौँमा किरिया पुत्री भवन निर्माण सँगै काठमाडौं महानगरपालिका वडा न ११,३१ र ३२ मा विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने परिवारले जनाएको छ ।

यस्तै कोषमार्फत भिएस निकेतनको कक्षा ११ र १२ का जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने डा वविन पोखरेलले जानकारी दिन’भयो । कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले शिक्षाले मात्रै देशको विकास र समाज परिवर्तन गर्ने भएकाले व्यवहारिक शिक्षाको खाँचो रहेको औंल्याउनु भयो।

डा पोखरेल संविधान सभाबाटै संविधान जारी गर्नु पर्छ भन्ने चिन्ता बोक्ने व्यक्ति भएको स्मरण गर्नु हुदै नेपाल ले शिक्षा क्षेत्रमा उहाँले दिएको योगदान अविश्मरणीय रहेको उल्लेख गर्नु भयो । नेपालमा डा पोखरेल जस्तै व्यक्तिहरुले शिक्षाको उन्नयनमा ठूलो योगदान रहेको भन्दै नेता नेपालले पोखरेललाई शिक्षाले नै समाजको उत्थान र विकास सम्भव छ भन्ने विश्वास बोक्ने व्यक्तिको संज्ञा दिन’भयो । उहाँले शिक्षालाई व्यापारको रुपमा नभई सेवाको रुपमा हेर्नु पर्ने जोड दिनु भयो ।

नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले डा पोखरेलको योगदानलाई जीवित बनाउन परिवारसँग आग्रह गर्दै उहाँले समाजमा अतुलनीय योगदान दिएको उल्लेख गर्नु भयो । महान्यायाधिवक्ता अग्नी खरेलले डा पोखरेल केही गरौं भन्ने भावना बोक्ने व्यक्ति भएको स्मरण गर्दै राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तिको रुपमा सम्झनु भयो ।

सांसद उमेश श्रेष्ठले डा पोखरेलले समाजमा अनुसरण गर्न लायक काम गरेको उल्लेख गर्दै मुलुक बनाउने हो भने पहिलो काम शिक्षाबाटै शुरु गर्नु पर्ने बताउनु भयो । उहाँले सम्भव भएसम्म सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनु पर्ने बताउनु भयो ।

यसैवीच डा बाबुराम पोखरेल स्मृति समाजले आज काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ को मातहतमा रहने गरी सञ्चालन हुने एम्बुलेन्सका लागि रु १० लाख प्रदान गरेको छ । उक्त रकम नेकपाका वरिष्ठ नेता नेपालले वडाध्यक्ष नारायणप्रसाद भण्डारीलाई चेकमार्फत हस्तान्तरण गर्नु भएको थियो ।

स्व डा बाबुराम पोखरेल स्मृति समाजले आजै समाजका चार लब्ध प्रतिष्ठित ब्यक्तित्वलाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यामबाट समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्मृति समाजले आज राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीलाई सम्मान गरेको छ ।

उहाँलाई पूर्ब प्रधानमन्त्री एवं नेकपाका नेता माधवक’मार नेपालले दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नु भएको थियो साथै विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याएका सगुन शाह, शिक्षाबिद् इन्दिरा याक्थुम्बा र डा वासुदेव कोईरालालाई सम्मान गरिएको थियो । सो क्रममा विभिन्न विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

भिएस निकेतन शैक्षिक प्रतिष्ठानका संस्थापक डा बाबुराम पोखरेलको मुटु सम्बन्धीको रोगका कारण गएको वर्ष पौष २३ गते निधन भएको थियो । कार्यक्रम उहाँका छोरा डा युविन पोखरेलले समापन गर्नु भएको थियो ।