नेपालमा दोस्रो अन्तराष्ट्रिय चलचित्र महोत्सबको आयोजना गरिदै

January 17, 2019   Filed under Page3Nepal Update    Please Subscribe our Youtube Channel


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान ले बिहिवार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ देखि १३ सम्म काठमाडौँमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको जानकारी गराएको छ । महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाइएको छ ।

महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा रहेका छन् । ६ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् भने बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि प्रदर्शन गरिने जनाइएको छ ।

वरिष्ठ फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ फिल्मकर्मी नीर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, केन्द्रिय चलचित्र जाच पास समिति सदस्य सुभाष गजुरेल, अभिनेता निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र एक हजार डलर सहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ । नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्र रु पचास हजार र ट्रफी तथा छोटो चलचित्रलाई उत्कृष्ट भएकालाई रु पच्चीस हजार र ट्रफी प्रदान गरिनेछ ।